भारी वर्षा र सम्भावित विपद्लाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षा र चट्याङसहितको मौसमी विपद्को चेतावनी दिएसँगै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका स्वास्थ्य निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश स्थानमा हुरीबतास, मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने जनधनको क्षति र मानवीय स्वास्थ्य संकटलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रको पूर्वतयारीलाई सुदृढ बनाउन पत्राचार गरिएको हो।

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) का प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तत्काल तोक्न र निजको सम्पर्क विवरण सार्वजनिक गर्न प्रदेश केन्द्रहरूलाई आग्रह गरिएको छ।

त्यस्तै, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक विशेषज्ञ स्वास्थ्य जनशक्तिलाई ‘स्ट्यान्डबाइ’ (तयारी अवस्थामा) राख्न भनिएको छ। विपद्का समयमा घाइतेहरूको तत्काल उद्धार तथा उपचारका लागि एम्बुलेन्स सेवा, आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अक्सिजनको उपलब्धता अद्यावधिक गर्न समेत निर्देशन दिइएको छ।

विपद्को जोखिमका बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार सेवा पुर्‍याउन प्रदेशस्थित एम्बुलेन्स प्रेषण केन्द्रहरूसँग प्रभावकारी समन्वय गर्नुपर्ने पत्रमा उल्लेख छ। साथै, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना र अवस्थाको दैनिक विवरण ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा केन्द्रमा पठाउन निर्देशन दिइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा