काठमाडौँ । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नेपाल प्रहरीको सर्वोच्च कमाण्डर—प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी केसीलाई प्रहरी नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी सङ्गठनलाई चुस्त, व्यावसायिक र जनउत्तरदायी बनाउन नेतृत्व परिवर्तन गरिएको बताउनुभयो । नवनियुक्त आईजीपी केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
को हुन् मनोज केसी ? यस्तो छ पृष्ठभूमि र चर्चा :
एआईजी मनोज केसी नेपाल प्रहरीभित्र निडर, व्यावसायिक र अनुसन्धानमा अब्बल अधिकृतका रूपमा परिचित हुनुहुन्छ । विशेष गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उहाँले देशलाई नै तरङ्गित बनाएको बहुचर्चित ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ को सफल अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा बहालवाला सचिवसहितका शक्तिशाली व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर साहसिक छवि बनाउनुभएका केसीलाई प्रहरी नेतृत्वमा ल्याइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, सरकार र पूर्वआईजीपी दानबहादुर कार्कीबिच पछिल्लो समय खटपट बढ्दै गएको थियो । निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अनियमितता भएको भन्दै संसद्मा प्रश्न उठेपछि र बिचौलियाहरूसँग सम्पर्क रहेको विषय सार्वजनिक भएपछि सङ्गठनभित्र तथा सरकारसँग कार्कीको असमझदारी चुलिएको थियो । सोही विवादको निकास स्वरूप सरकारले कार्कीलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएर स्वच्छ छवि भएका एआईजी केसीलाई सङ्गठनको कमाण्ड सुम्पेको हो ।





