दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त, मन्त्रिपरिषद्द्वारा नयाँ पद सिर्जना

काठमाडौँ । सरकारले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षक स्तरको ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गर्दै कार्कीलाई सो पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले वर्तमान संवेदनशील परिस्थितिमा मुलुकको शान्ति सुरक्षा थप चुस्त र सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा प्रत्यक्ष परामर्श र सल्लाह उपलब्ध गराउन नयाँ पद सिर्जना गरिएको बताउनुभयो । सोही पदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाइएको उहाँले प्रष्ट पार्नुभयो ।

जिम्मेवारी फेरबदल मात्रै भएको सरकारको दाबी :
सञ्चारकर्मीहरूको जिज्ञासामा प्रवक्ता पोखरेलले कार्कीलाई कारबाही नगरिएको दाबी गर्दै नियमित आवश्यकता अनुसार जिम्मेवारी हेरफेर मात्र गरिएको स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकले कार्कीको ठाउँमा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिसकेको छ ।

प्रहरी नेतृत्वमा रहँदा निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियामा अनियमितता र बिचौलिया साँठगाँठको विषयलाई लिएर संसद् तथा सार्वजनिक वृत्तमा चर्को प्रश्न उठेपछि कार्की विवादमा तानिनुभएको थियो । उक्त गतिरोधलाई निकास दिन सरकारले सङ्गठनको कमाण्ड नक्कली भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता एआईजी केसीलाई सुम्पेर कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत सुरक्षा सल्लाहकारको भूमिकामा ल्याएको हो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा