काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता जनकपुर बोल्ट्समाथि २७ रनको शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा १ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुरलाई ९३ रनमै रोक्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो।
यस जितसँगै सुदूरपश्चिम रोयल्स ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान ८ अंक भए पनि नेट रनरेटका आधारमा काठमाडौं गोर्खाज शीर्ष स्थानमा यथावत् छ। यता, पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको भने ६ खेलमा यो चौथो हार हो। ४ अंकमा सीमित जनकपुरको प्लेअफ पुग्ने यात्रा निकै कठिन बनेको छ।
मध्यम लक्ष्य पछ्याउँदा धर्मरायो जनकपुर
सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य पछ्याएको जनकपुरको इनिङ्स सुरुदेखि नै दबाबमा रह्यो। सुदूरपश्चिमका बलरहरूको कसिलो र आक्रामक बलिङ सामु जनकपुर १९ ओभर ५ बलमा ९३ रनमै समेटिन पुग्यो।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१ रन बनाए भने जिम्मी निसमले २० रन जोडे। त्यस्तै आदित्य महताले १० र रायन बर्लले ८ रनको योगदान दिए। जनकपुरका ६ जना ब्याटरहरू दोहोरो अंकमा रन जोड्न समेत असफल रहे।
बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले घातक बलिङ गर्दै सर्वाधिक ३ विकेट हात पारे। त्यस्तै हेमन्त धामी, इशान पाण्डे, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए। जनकपुरका दुई खेलाडी रनआउट हुन पुगेका थिए।
सुदूरपश्चिमको ब्याटिङ : म्याकमुलेनको महत्वपूर्ण इनिङ्स
त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रनको महत्वपूर्ण इनिङ्स खेले। उनले २३ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरेका थिए।
यसैगरी थारिन्दु रत्नायकेले १६ रन, आरिफ शेखले ११ रन तथा विनोद भण्डारीले १० रन बनाएका थिए। बलिङतर्फ जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट चट्काए पनि ब्याटरहरूको निराशाजनक प्रदर्शनका कारण टोलीलाई जित दिलाउन सकेनन्। ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १–१ विकेट हात पारे।
एनपिएलमा बुधबार विश्राम, बिहीबार दुई खेल हुने
नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार विश्रामको दिन रहेको छ। बिहीबार प्रतियोगिताअन्तर्गत दुई महत्वपूर्ण खेलहरू हुनेछन्। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।




