संविधानअनुसार वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूले पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै संविधानको मर्मअनुसार आगामी वैशाख महिनाको अन्तिममा निर्वाचन हुनुपर्ने बताएका छन्। पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन सार्ने वा तोकिएको समयभन्दा अगाडि–पछाडि धकेल्ने प्रयास एमालेलाई स्वीकार्य नहुने स्पष्ट पारे।

निर्वाचन आयोगमा पार्टीका तर्फबाट महासचिव देवेन्द्र दाहालले राखेको धारणा उल्लेख गर्दै अध्यक्ष ओलीले फागुन वा चैतमा चुनाव गरेर जनप्रतिनिधिको वैधानिक कार्यकाल कटौती गर्न नहुने तर्क गरे। उनले संविधानले स्पष्ट रूपमा पाँच वर्षको कार्यकाल किटान गरेकाले जनप्रतिनिधिहरूले काम गर्न पाउने नैसर्गिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले चुनावको मिति हेरफेर गरेर कसलाई राजनीतिक फाइदा वा नोक्सान हुन्छ भन्ने हिसाबकिताबमा लाग्न नहुने बताए। ‘संविधानमा पाँच वर्षको व्यवस्था छ, त्यसैले पाँच वर्षमै चुनाव हुनुपर्छ,’ उनले भने, ‘हामीले एउटा ठाउँमा संविधान मिच्न छुट दियौँ भने त्यसैलाई टेकेर सरकारले बारम्बार संविधान उल्लंघन गर्ने बाटो खुला हुनेछ।’

वर्तमान राजनीतिक परिस्थितिमा एमालेले संविधान र लोकतान्त्रिक मूल्यमान्यताको दृढतापूर्वक रक्षा गर्ने बताउँदै उनले सम्पूर्ण जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर संगठन सुदृढीकरणमा जुट्न निर्देशन दिए। उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न जनउत्तरदायी भएर काम गर्न सबैलाई आह्वान गरे।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा