काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको पक्षमा दृढ रहेको शेरबहादुर देउवा पक्षीय समूहको गण्डकी प्रदेश प्रथम सम्मेलन तथा अधिवेशन आज शनिबारदेखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ। पूर्वप्रधानमन्त्री एवं पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा उद्घाटन गर्ने यस दुई दिने अधिवेशनले प्रदेशको नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नेछ।
अधिवेशनको उद्घाटन सत्रअघि पोखराको चिप्लेढुङ्गाबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको भव्य र्याली आयोजना गरिएको छ। उद्घाटन सकिएलगत्तै आजैदेखि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको छ। प्रदेशभरबाट ३६ प्रदेश निर्वाचन क्षेत्र, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ८५ वटै पालिकाका सभापति, प्रदेश तथा संघीय सांसदहरू र भ्रातृ संस्थाका गरी १ हजार ६ सय १ भन्दा बढी प्रतिनिधिहरू अधिवेशनमा सहभागी भएका छन्।
यस अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्रीसहित समावेशी कोटाबाट विभिन्न पदाधिकारी र कार्यसमिति सदस्यहरू निर्वाचित गर्नेछ। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत रहेका अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको आयोजकले जनाएको छ।
नयाँ कार्यसमिति सकेसम्म सर्वसम्मत रूपमा चयन गर्ने प्रयास भइरहे पनि नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेश सभापति पदमा मेखलाल श्रेष्ठ र पर्वतका विश्वप्रकाश प्रसाईँ मुख्य दाबेदारका रूपमा अघि सरेका छन्। आइतबारसम्ममा मतदान प्रक्रिया सम्पन्न गरी नयाँ नेतृत्व घोषणा गर्ने तयारी आयोजक समितिको रहेको छ।




