काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको मर्म केवल सशस्त्र द्वन्द्वको अन्त्य मात्र नभएको स्पष्ट पारेका छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको ऐतिहासिक दिनको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै उनले शान्ति सम्झौताको मुख्य उद्देश्य पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध मुलुक निर्माण गर्नु रहेको उल्लेख गरेका छन्।
संयोजक दाहालले २०६३ साल मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको सम्झौता दुई पक्षबीचको मात्र नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको स्मरण गरे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको उक्त सहमतिले मुलुकलाई लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक दिशामा डोर्याएको उनले चर्चा गरे।
विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभा निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, समावेशी लोकतन्त्र तथा नयाँ संविधान निर्माणजस्ता युगान्तकारी उपलब्धि हासिल भएको प्रचण्डको भनाइ छ। नेपालको राजनीतिक इतिहासमा यो सम्झौता रूपान्तरण र राष्ट्रिय एकताको महत्त्वपूर्ण नमुनाका रूपमा स्थापित भएको उनले बताएका छन्।
शान्ति सम्झौताका कतिपय महत्त्वपूर्ण प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै उनले द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्ने र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु आजको राष्ट्रिय दायित्व भएको बताए। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायलाई गम्भीरतापूर्वक लाग्न उनले आह्वान गरेका छन्।




