लुम्बिनीविरुद्ध सुदूरपश्चिमको शानदार जित : १० विकेटले हराउँदै पहिलो पटक बन्यो एनपीएल च्याम्पियन

काठमाडौँ । जर्ज मुन्सेको कीर्तिमानी विष्फोटक शतकको मद्दतले सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि चुमेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले स्तब्ध पार्दै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको हो ।

उपाधिका लागि लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले कुनै पनि विकेट नगुमाई मात्र १३ दशमलव ३ ओभरमा पूरा गर्‍यो । सुदूरपश्चिमको ऐतिहासिक जितका नायक बनेका स्कटिस ओपनर जर्ज मुन्सेले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको नयाँ कीर्तिमान रचे । मात्र ५४ बल खेलेका मुन्सेले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १२५ रनको आक्रामक इनिङ्स खेले । मुन्सेले २८ बलमै अर्धशतक र ४९ बलमा शतक प्रहार गरेका थिए । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन जोड्दै उत्कृष्ट साथ दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा सर्वाधिक अविजित ४० रन बनाए । कप्तान रोहित पौडेलले ३० रन, निरोसन डिकवेलाले २८ रन, अलि शेखले १२ बलमा २४ रन र डार्सी सर्टले २१ रन जोडे । सुदूरपश्चिमका बलर स्कट कुगलेनले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले १–१ विकेट हात पारे ।

यससँगै अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग बेहोरेको पराजयको बदला लिँदै सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा प्रतिष्ठित एनपीएल ट्रफी आफ्नो नाममा लेखाएको छ । खचाखच भरिएको त्रिवि मैदानमा भएको फाइनल खेल हेर्न मन्त्रीहरू तथा शीर्ष राजनीतिक नेतृत्वको समेत उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा