टुँडिखेलमा ठाउँ नपाएपछि अग्रगामी मोर्चाको आन्दोलन घोषणा कार्यक्रम स्थगित, अब माइतीघरबाट गर्ने तयारी

काठमाडौँ । विभिन्न ९ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले काठमाडौँको खुलामञ्च (टुँडिखेल) बाट घोषणा गर्ने तय गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि पछि सारेको छ। आगामी मङ्सिर १० गते टुँडिखेलमा बृहत् भेला आयोजना गरी आन्दोलनको औपचारिक घोषणा गर्ने मोर्चाको पूर्वतयारी भए पनि स्थान अभावका कारण उक्त कार्यक्रम केही समयका लागि स्थगित गरिएको हो।

काठमाडौँ महानगरपालिकामा कार्यक्रमका लागि टुँडिखेलको अनुमति माग्न जाँदा उक्त स्थान आगामी दुई महिनासम्मका लागि पहिले नै अग्रिम बुकिङ भइसकेको जानकारी प्राप्त भएको जनमत पार्टीका महासचिव सञ्जय यादवले बताएका छन्। अर्कातर्फ भृकुटीमण्डपमा समेत राजनीतिक सभा तथा कार्यक्रमहरू आयोजना गर्न रोक लगाइएका कारण मोर्चाले खुलामञ्चमा कार्यक्रम गर्न नपाएको हो।

टुँडिखेल उपलब्ध नभएपछि अब काठमाडौँको माइतीघर मण्डलाबाटै आन्दोलनका कार्यक्रम घोषणा गर्ने गृहकार्यमा मोर्चा जुटेको छ। माइतीघरमा कुन मितिमा कार्यक्रम घोषणा गर्ने भन्नेबारे आगामी मङ्सिर १५ गते मोर्चाको शीर्ष बैठक आह्वान गरिएको छ। उक्त बैठकबाट कार्यक्रमको मिति र स्वरूप निर्धारण गरी घोषणा सभा आयोजना गरिने नेताहरूले जानकारी दिएका छन्।

उक्त अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीलगायतका ९ दल आबद्ध छन्। संविधानले प्रत्याभूत गरेका समानता, समावेशिता र सामाजिक न्याय व्यवहारमा लागू नभएको भन्दै उत्पीडित तथा सीमान्तकृत समुदायको हकअधिकारका लागि मोर्चाले हाल देशका प्रमुख सहरहरूमा जागरण तथा अभिमुखीकरण अभियान चलाइरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा