काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका तत्कालीन प्रहरी प्रमुख दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सोमबार सुनुवाइ हुँदैछ। आफूलाई गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको दाबी गर्दै कार्कीले सर्वोच्चको ढोका ढकढक्याएका हुन्।
कार्कीले प्रहरी ऐन २०१२ तथा प्रहरी नियमावली २०७१ को स्पष्ट प्रावधानविपरीत सरकारले आफूलाई समयावधि नसकिँदै पदमुक्त गरेको जिकिर गरेका छन्। उनले महानिरीक्षक पदमा यथाशीघ्र पुनर्बहाली गर्न परमादेश माग गर्नुका साथै नवनियुक्त महानिरीक्षक डा. मनोज केसीलाई दैनिक प्रशासनिक कामकाज गर्नबाट रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरेका छन्।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको यथेष्ट कारण पेस गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ। सोही इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा विस्तृत छलफलका लागि आज मंसिर ७ गते विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई झिकाएको थियो।
बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले डा. मनोज केसीलाई प्रहरीको २९औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले कानुनी उपचार खोजेका हुन्। सर्वोच्च अदालतमा दुवै पक्षका कानुन व्यवसायीबिच हुने बहसपछि नवनियुक्त आईजीपी केसीको नियुक्ति रोकिने वा कायम रहने भन्नेबारे प्रारम्भिक कानुनी निरूपण हुने अपेक्षा गरिएको छ।




