काठमाडौँ । भारतको दुई दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर गान्धीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्री शाहले त्यहाँस्थित आगन्तुक पुस्तिकामा सन्देश लेखी करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको विचार व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा भगवान् बुद्धको पावन जन्मभूमि नेपालबाट आएको सन्दर्भ स्मरण गर्दै महात्मा गान्धीको विचार र विरासतमा त्यही अमर ज्योति देखेको उल्लेख गरेका छन्। गान्धीको त्यागपूर्ण जीवनले विश्वसामु सत्यमा अद्वितीय शक्ति हुन्छ र त्यसको तुलना संसारको कुनै पनि बलसँग हुन नसक्ने तथ्य प्रमाणित गरेको उनले चर्चा गरे।
दुई देशबिचको सम्बन्धबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले नेपाल र भारत केवल भौगोलिक सीमाले मात्र नभई साझा आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको बताएका छन्। गान्धीको कालजयी आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले पारस्परिक सम्मान, गहिरो इमानदारी र अटल विश्वासका आधारमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल सदैव प्रतिबद्ध रहेको दोहोर्याए।
महात्मा गान्धीले देखाएको सत्य, अहिंसा र सद्भावको मार्गले विश्वशान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै मार्गदर्शन गरिरहेको प्रधानमन्त्री शाहको भनाइ थियो। उनले गान्धीका युगान्तकारी आदर्शहरूले न्यायपूर्ण, शान्तिपूर्ण र समृद्ध विश्व निर्माणको साझा यात्रालाई सधैँ आलोकित गरिरहने विश्वास व्यक्त गरेका छन्।




