भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान, मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । दुई दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन्। सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको उच्चस्तरीय भेटवार्तापश्चात् आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशको सम्बन्धलाई नयाँ पुस्ताको अवसर, आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए।

नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र समुन्द्रजस्तै विशाल रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस सम्बन्धको मुख्य आधार दुवै देशका जनताबिचको प्रगाढ आत्मीयता रहेको बताए। भारतले विपद् र कठिन परिस्थितिमा भरपर्दो छिमेकी तथा पहिलो उद्धारकर्ताका रूपमा पुर्‍याउँदै आएको सहयोगको स्मरण गर्दै उनले भारत सरकार र भारतीय जनताप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे। दुईपक्षीय वार्तामा पूर्वाधार, ऊर्जा, पारवहन र प्रविधि क्षेत्रमा ऐतिहासिक समझदारी भएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले भारतीय लगानीकर्ताहरूलाई नेपालका विभिन्न उत्पादनमूलक तथा पूर्वाधारका क्षेत्रमा ढुक्क भएर लगानी गर्न विशेष आह्वान गरेका छन्। नेपालमा स्थापना हुन लागेको भारतीय प्रविधि संस्थान (आईआईटी) ले दुवै देशका विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको अवसर दिने उल्लेख गर्दै उनले प्रमुख सहरहरूबिच सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने खाँचो औँल्याए। साथै, हिमालयबाट गंगासम्म बग्ने नदीहरूले दुई देशको साझा नियति जोडेकाले जलवायु परिवर्तनको संकटविरुद्ध संयुक्त प्रयास थाल्नुपर्ने उनले बताए।

सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले नेपाली जनता तथा सरकारका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका छन्। यसका साथै उनले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामस्थित जानकी मन्दिर र भगवान् बुद्धको जन्मस्थल लुम्बिनीजस्ता विशिष्ट धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको दर्शन गर्न भारतीय नागरिकहरूलाई समेत नेपाल भ्रमणको न्यानो आमन्त्रण गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा