सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, आजैदेखि ५ प्रतिशत महँगो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको वृद्धिलाई कारण देखाउँदै सरकारले सार्वजनिक यातायातको भाडादरमा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आज बुधबारदेखि नै लागू हुने गरी अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ५ प्रतिशतले बढाएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख १२ गते दिएको सैद्धान्तिक सहमतिका आधारमा विभागले यो नयाँ भाडादर कायम गरेको हो।

विभागका अनुसार अब अन्तरप्रदेश चल्ने यात्रुवाहक बस, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईका क्षेत्रमा चल्ने ट्रक तथा कन्टेनरहरूमा समान ५–५ प्रतिशतका दरले भाडा बढ्नेछ। अचम्मको कुरा के छ भने, यसअघि गत चैत २५ गते मात्रै भाडा वृद्धि गरिएको थियो। तर, डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको भन्दै विभागले महिना दिन नपुग्दै फेरि यात्रुको खल्तीमा भार थप्ने निर्णय गरेको छ।

यो भाडा वृद्धि केवल इन्धनबाट चल्ने सवारी साधनका लागि मात्रै सीमित गरिएको छ। विभागले विद्युतीय सवारी साधनको हकमा पुरानै भाडादर कायम रहने स्पष्ट पार्दै कुनै पनि विद्युतीय सवारीले बढी भाडा लिएमा कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। इन्धनको मूल्य बढ्दा पटक–पटक भाडा समायोजन गरिए पनि छोटो समयको अन्तरालमै भएको यो वृद्धिले सर्वसाधारण र व्यवसायी दुवैलाई प्रभावित पार्ने देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा