काठमाडौँ । आगामी फागुन २१ गते देशैभर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा व्यस्त छन् भने मतदाताहरू मतदानको तयारीमा जुटेका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले मतदाताका लागि विशेष आचारसंहिता र निर्देशनहरू जारी गरेको छ। मतदान केन्द्रमा जानुअघि प्रत्येक मतदाताले आफूले पालना गर्नुपर्ने नियमहरूका बारेमा जानकारी राख्नु आवश्यक छ।
के गर्न पाइन्छ?
मतदानका लागि जाँदा मतदाताले आयोगले तोकेको आधिकारिक परिचयपत्र साथमा लैजानुपर्छ। मतदान केन्द्रमा प्रवेश गरेपछि लामबद्ध भई आफ्नो पालो पर्खनुपर्नेछ। मतदान अधिकृतबाट मतपत्र लिइसकेपछि गोप्य मतदान कक्षमा गई आफूलाई मन परेको उम्मेदवार वा दलको चिह्नमा स्पष्टसँग छाप लगाउन पाइन्छ। शारीरिक रूपमा अशक्त वा दृष्टिभिहीन मतदाताको हकमा भने एकाघरको परिवारको सदस्यको सहयोगमा मतदान गर्न पाउने व्यवस्था रहेको छ।
के गर्न पाइँदैन?
मतदान केन्द्रभित्र केही कार्यहरू पूर्ण रूपमा निषेध गरिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मतदान केन्द्रभित्र मोबाइल फोन, क्यामेरा वा कुनै पनि तस्विर खिच्ने उपकरण लैजान पाइँदैन। आफूले मत सङ्केत गरेको मतपत्रको तस्विर खिच्नु वा अरूलाई देखाउनु कानुन विपरीत मानिन्छ। यसो गरेमा मतपत्र बदर हुनुका साथै जरिबाना समेत हुन सक्छ।
यस्तै, मतदान केन्द्रको निश्चित घेराभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारका सामग्री (टोपी, टिसर्ट, झोला वा ब्याज) लगाएर जान पाइँदैन। मदिरा वा लागुपदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न कडा प्रतिबन्ध लगाइएको छ। साथै, हातहतियार वा कुनै पनि विस्फोटक पदार्थ लिएर मतदान स्थलमा जानु दण्डनीय अपराध मानिन्छ।
मतदान गर्दा ध्यान दिनुपर्ने कुराहरू
मतदानलाई बदर हुनबाट जोगाउन मतदाताले स्वस्तिक छाप स्पष्टसँग लगाउनुपर्छ। दुईवटा चिह्नको बीचमा वा स्पष्ट नहुने गरी छाप लगाएमा त्यस्तो मत गणना हुँदैन। मतदान गरिसकेपछि मतपत्रलाई सही तरिकाले पट्याएर मात्र मतपेटिकामा खसाल्नुपर्छ। निर्वाचन आयोगले ‘मौन अवधि’ सुरु भएदेखि मतदान सम्पन्न नहुँदासम्म कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न र नगराउन समेत सबैमा आग्रह गरेको छ।




