गण्डकीमा नयाँ सरकार बन्दै

गण्डकी– गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ ।

 नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले तोकिएको समयावधि भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरिने बताए । कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने उनले उल्लेख गरे ।

‘कांग्रेसले मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भइसकेको छ, मन्त्रालय बाँडफाँडलगायत विषयमा गठबन्धन दलबीच थप समझदारी बनाएर अघि बढ्छौँ’, प्रदेशसभा सदस्य थापाले भनिन् । कांग्रेसको मुख्यमन्त्री बन्नेमा कुनै द्विविधा नरहेको उनको भनाइ छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने मुख्यमन्त्री दाबी गर्ने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको बताए । ‘हाम्रो पनि मुख्यमन्त्रीमा दाबी छ, केन्द्रबाट के निर्देशन आउँछ, सोहीअनुसार हुन्छ’, उनले भने , ‘अहिले नै सबै विषयवस्तु टुङ्गीसकेको छैन ।’

माओवादी केन्द्रले पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । अहिले मुख्यमन्त्री नपाउने स्थितिमा आलोपालोका लागि समय नै तोकेर लिखित सहमति गर्नुपर्ने उसको माग छ । मुख्यमन्त्री कांग्रेसलाई छाड्दा सातमध्ये तीन मन्त्रालयमा माओवादी केन्द्रको दाबी छ । 

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो । विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले) का खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो । 

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो । अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ । 

साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा