एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो। यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए ।

यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।

सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई निरन्तरता दिइएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो ।

त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।

उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । उनै ललितले सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा