काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणको तयारीलाई दुवै देशले तीव्र पारेका छन् । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्री तथा उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै भ्रमणका सम्भावित एजेन्डाबारे घनीभूत छलफल गर्नुभएको छ ।
मंसिरको पहिलो साता हुने तय भएको प्रधानमन्त्री बालेनको पहिलो औपचारिक भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ । सोही भ्रमणको आधार तय गर्न काठमाडौँ आइपुग्नुभएका विदेश सचिव मिस्रीले परराष्ट्र सचिव राईसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय औपचारिक वार्ता गर्नुभएको थियो ।
कनेक्टिभिटी र ऊर्जा सहकार्य प्राथमिकतामा :
दुई सचिवबिच भएको छलफलमा हवाई सञ्जाल, रेलमार्ग, सडक तथा सीमावर्ती पुललगायत पूर्वाधारमार्फत दुई देशबिचको सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तार गर्ने विषयले मुख्य प्राथमिकता पाएको छ । त्यसैगरी द्विपक्षीय व्यापार सहजीकरण, ऊर्जा क्षेत्रको व्यापार विस्तार, विकास आयोजनाहरूको कार्यान्वयन र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अर्थ, ऊर्जा र पूर्वाधारमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता :
नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल–भारत आर्थिक साझेदारी र लगानी प्रवर्द्धनबारे कुराकानी गर्नुभयो । त्यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग ऊर्जा व्यापार तथा जलविद्युत् आयोजनाहरूको प्रगति समीक्षा र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग सीमापार पूर्वाधार निर्माणका विषयमा छलफल गर्नुभएको छ ।
विदेश सचिव मिस्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सो भेटपछि भ्रमणका ठोस तथा अन्तिम एजेन्डाहरूले अन्तिम रूप पाउने बताइएको छ ।





