काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ मा पालिका प्रमुख र उपप्रमुख पदमा आकांक्षीहरूको बाक्लो आकर्षण देखिए पनि वडा तहमा भने उत्साहजनक आवेदन नपरेको पाइएको छ। जनतासँग प्रत्यक्ष जोडिने वडाध्यक्ष तथा सदस्य पदहरूमा नेता-कार्यकर्ताहरूको अरुचि देखिएपछि पार्टी सभापति रवि लामिछानेले कडा असन्तुष्टि पोखेका छन्।
रवि लामिछानेको आक्रोश : ‘वडाध्यक्ष लड्न म आफैँले राजीनामा दिनुपर्ने स्थिति आयो’
चितवनमा आयोजित आन्तरिक प्रशिक्षण कार्यक्रममा सभापति रवि लामिछानेले तल्लो तहका पदहरू उपेक्षा गरेर माथिल्लो पदमा मात्र आँखा लगाउने प्रवृत्तिप्रति व्यङ्ग्य र आक्रोश व्यक्त गरेका थिए। ‘वडामा चुनाव लड्न त म आफैँ राजीनामा दिएर वडाध्यक्ष उठ्नुपर्ला जस्तो छ,’ लामिछानेले भनेका थिए, ‘हाम्रा साथीहरू वडाध्यक्षको पदलाई हेर्दै हेर्दैनन्, एकैचोटि पालिका प्रमुख वा सांसद मात्र हुन खोज्छन्। माथि मात्र हेर्ने, तल नहेर्ने प्रवृत्तिले हामी अवसरवादी राजनीतितर्फ उन्मुख हुँदैछौँ भन्ने देखाउँछ।’
उम्मेदवार छनोट समिति र उपसमितिहरू
रास्वपा केन्द्रीय समितिले महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरेको छ। समितिअन्तर्गत विभिन्न कार्यक्षेत्रका लागि उपसमितिहरू समेत क्रियाशील छन्।
जसमा क्यान्डिडेट क्लबको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ भने प्रविधि समन्वयमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की, क्षमता विकासमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिमा मिलन लिम्बू रहेका छन्। सातै प्रदेशका प्रदेश सभापतिहरू यस समितिमा पदेन सदस्य छन्।
संयोजक आचार्य भन्छन् : ‘आवेदन खुला नै छ, तिहारपछि संख्या बढ्नेछ’
उम्मेदवार छनोट रूपरेखा समितिका संयोजक एवं महामन्त्री विपिन कुमार आचार्यले भने स्थानीय तहका उम्मेदवारका लागि समग्र आवेदन प्रक्रिया उत्साहजनक नै रहेको दाबी गरेका छन्। उनका अनुसार मेयर र अध्यक्षको तुलनामा वडा तहमा कम आवेदन परे पनि आवेदनका लागि कुनै निश्चित समयसीमा नतोकिएकाले तिहार पर्वपछि आकांक्षीहरूको संख्या बढ्ने विश्वास पार्टीको छ। साथै सरकारले निर्वाचनको आधिकारिक मिति घोषणा नगरेकाले पनि तल्लो तहमा केही अन्योल देखिएको उनले बताए।
उम्मेदवार छनोटका ४ मुख्य मापदण्ड र ‘जिरो टोलरेन्स’
स्थानीय निर्वाचनमा सक्षम र निष्कलंक उम्मेदवार उठाउन रास्वपाले ४ बुँदे मूल्यांकन मापदण्ड निर्धारण गरेको छ। जसअनुसार प्रारम्भिक निर्वाचन (प्राइमरी) लाई ४० प्रतिशत भार छुट्याइएको छ। त्यसैगरी लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीलाई २५–२५ प्रतिशत तथा समावेशिताका लागि १० प्रतिशत भाराङ्क तोकिएको छ।
क्यान्डिडेट क्लबमा दर्ता भएका आकांक्षीले स्थानीय शासन, सार्वजनिक वित्त, कानुन र पार्टी नीतिसम्बन्धी अनिवार्य प्रशिक्षण पूरा गरी न्यूनतम मापदण्ड उत्तीर्ण गर्नुपर्नेछ। प्रारम्भिक निर्वाचनमा मतदाताको असन्तुष्टि सम्बोधन गर्न ‘नन अफ द एभब’ (नोटा) को विकल्प समेत राखिएको छ। पार्टीले आर्थिक चलखेल, धाँधली र अनुशासनहीनताविरुद्ध शून्य सहनशीलता (जिरो टोलरेन्स) को नीति लागू गरेको छ।




