एनपीएल क्रिकेट : प्लेअफमा पुगिसकेको लुम्बिनी र दबाबमा रहेको विराटनगरबिच भिडन्त, यस्तो छ हेड टु हेड

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणअन्तर्गत आज शनिबार प्लेअफमा स्थान सुरक्षित गरिसकेको शीर्ष टोली लुम्बिनी लायन्स र प्लेअफ प्रवेशको चर्को दबाबमा रहेको विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलमा लुम्बिनी शीर्ष स्थान थप मजबुत बनाउने लक्ष्यमा मैदान उत्रिनेछ भने विराटनगरका लागि प्लेअफ सम्भावना जीवित राख्न जित अनिवार्य बनेको छ।

जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेको रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स ६ खेलबाट ४ जित, १ हार र १ बराबरी (वर्षाका कारण अंक बाँडेको) सहित ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। बलियो नेट रनरेट (+१.४२१) सहित प्लेअफमा पुगिसकेको लुम्बिनीका लागि ब्याटिङमा डि’आर्सी सर्ट र रोहित पौडेल तथा बलिङमा शेर मल्ल, रुबेन ट्रम्पलम्यान र किशोर महतोको प्रदर्शन निकै भरपर्दो देखिएको छ। पछिल्लो खेलमा कर्णाली याक्सलाई कम स्कोरमै रोकेर जित निकालेको लुम्बिनी आज पनि सोही लयलाई निरन्तरता दिने रणनीतिमा छ।

अर्कोतर्फ सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स ६ खेलबाट ३ जित र ३ हारसहित ६ अंक बटुलेर चौथो स्थानका लागि संघर्षरत छ। आजको खेल जितेमा विराटनगरको अंक ८ पुग्नेछ र प्लेअफ यात्रा निकै सहज बन्नेछ, तर पराजयले भने टोलीलाई गणितीय दबाबमा धकेल्नेछ। विराटनगरका लागि पछिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका कप्तान सन्दीप लामिछानेको बलिङ र ६ खेलमा २२७ रन बनाइसकेका लोकेश बम तथा आक्रामक अलराउन्डर आन्द्रे रसेलको ब्याटिङ मुख्य हतियार हुनेछन्।

एनपीएलमा यी दुई टोलीको आपसी हेड टु हेड भिडन्तको इतिहास हेर्दा अघिल्ला तीन भेटमध्ये पछिल्ला दुई खेलमा लुम्बिनी विजयी भएको छ। पहिलो संस्करणमा विराटनगरले लुम्बिनीलाई २ विकेटले पराजित गरे पनि दोस्रो संस्करणको लिग चरणमा लुम्बिनीले ५ विकेट र दोस्रो क्वालिफायरमा ४० रनको सानदार जित निकालेको थियो। त्रिवि मैदानको स्पिन–अनुकूल पिच र दुवै टोलीको उच्च मनोबलका कारण आजको भिडन्त अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा