काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय टोलीले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा शनिबार भएको भेटवार्तामा भ्रमणका एजेन्डा, दुई देशबिचको सम्बन्ध तथा अन्तरपार्टी सम्बन्ध विस्तारका विषयमा आवश्यक छलफल र सल्लाह भएको छ।
महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कार्तिक २९ गतेदेखि औपचारिक चीन भ्रमणमा जाँदैछ। भ्रमण टोलीमा पार्टीका सांसदहरू, केन्द्रीय सदस्यहरू तथा विभिन्न विभागका प्रमुखहरू सहभागी रहने बताइएको छ। सीपीसीसँगको यस संवादले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धका साथै जनस्तर र राजनीतिक दलस्तरको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले विभिन्न कूटनीतिक तथा राजकीय परामर्श जारी राखेको छ। यसअघि शुक्रबार सो टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी भ्रमणका प्राथमिकता र राष्ट्रिय हितका विषयमा परामर्श गरेको थियो। प्रधानमन्त्रीसँगको भेटमा नेपालको आर्थिक विकास, सीमापार कनेक्टिभिटी तथा दुई पक्षीय विकास साझेदारीका विषयमा छलफल भएको थियो।
पार्टी सभापति लामिछानेले भ्रमण टोलीलाई शुभकामना दिँदै नेपालको राष्ट्रिय स्वाभिमान, कूटनीतिक मर्यादा र पार्टीको सैद्धान्तिक दृष्टिकोणलाई दृढताका साथ प्रस्तुत गर्न निर्देशन दिनुभएको छ। रास्वपाले स्थापनाको छोटो समयमै अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाउने नीति लिएको भन्दै यो भ्रमण दुई देशका राजनीतिक दलहरूबिचको अनुभव आदानप्रदानमा फलदायी हुने विश्वास व्यक्त गरिएको छ।




