काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर थप वृद्धि हुँदै गएको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार विश्वका प्रमुख प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको हो।
आईक्यूएयरको बुधबार बिहान ६ देखि ७ बजेसम्मको विवरणअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७२ मापन गरिएको छ। यसअघि बिहान ५ देखि ६ बजेसम्म काठमाडौँ १५८ एक्यूआईसहित विश्वको ११औँ स्थानमा रहेकोमा एक घण्टाको अवधिमै १४ अङ्कले प्रदूषण बढेर पाँचौँ स्थानमा पुगेको हो। एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई जनस्वास्थ्यका दृष्टिले ‘अस्वस्थकर’ मानिन्छ।
विश्वका सबैभन्दा प्रदूषित सहरहरूको शीर्ष सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ। त्यसैगरी बङ्गलादेशको ढाका २०८ एक्यूआईसहित दोस्रो, भारतको कोलकाता १९९ एक्यूआईसहित तेस्रो र भारतकै नयाँ दिल्ली १८३ एक्यूआईसहित चौथो स्थानमा छन्। काठमाडौँपछि उज्बेकिस्तानको तास्कन्द छैटौँ, इन्डोनेसियाको जाकार्ता सातौँ र भारतको मुम्बई आठौँ स्थानमा रहेका छन्।
उपत्यकाको वायुमण्डलमा धुलो तथा हानिकारक कणहरूको मात्रा निरन्तर बढ्दै जाँदा बालबालिका, ज्येष्ठ नागरिक तथा दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूमा स्वास्थ्य जोखिम उच्च हुन सक्ने चिकित्सकहरूले बताएका छन्। अस्वस्थकर वायुबाट जोगिन अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र विशेष सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सर्वसाधारणमा आग्रह गरेका छन्।




