प्रधानमन्त्री बालेनको भारत भ्रमण : खाना पकाउने ग्यास पाइपलाइनदेखि दोधारा चाँदनी सुक्खा बन्दरगाहसम्म एजेन्डा तय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका क्रममा उठाउने रणनीतिक आर्थिक तथा पूर्वाधार विकासका एजेन्डाहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तय गरी परराष्ट्र मन्त्रालयमा पठाएको छ। भ्रमणका क्रममा सुदूरपश्चिमको मुहार फेर्ने मानिएको दोधारा चाँदनी सुक्खा बन्दरगाहको संयुक्त शिलान्यासदेखि खाना पकाउने एलपीजी ग्यासको पाइपलाइन विस्तारसम्मका महत्त्वपूर्ण परियोजनालाई उच्च प्राथमिकतामा राखिएको छ।

मन्त्रालयले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको करिब ४२.३६ हेक्टर क्षेत्रफलमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहको दुवै देशका सरकार प्रमुखबाट औपचारिक शिलान्यास गराउने प्रस्ताव अघि सारेको छ। नेपाल, भारत र चीनबिचको त्रिदेशीय व्यापारिक नाकाका रूपमा हेरिएको यो आयोजना सञ्चालनमा आएपछि दिल्ली, पञ्जाब, हरियाणा र भारतका पश्चिमी समुद्री बन्दरगाहहरूसँग छोटो दुरीमा जोडिएर नेपालको पारवहन लागत र समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, एलपीजी ग्यास आपूर्ति व्यवस्थालाई दीर्घकालीन र सुरक्षित बनाउन मोतिहारी–सर्लाही ग्यास पाइपलाइन तथा विशाल भण्डारण गृह निर्माणको एजेन्डालाई प्राथमिकता दिइएको छ। हाल भारतीय बुलेटमार्फत ग्यास ढुवानी गर्दा भाडाबापत मात्रै वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको र सडक अवरुद्ध हुँदा आपूर्तिमा गम्भीर सङ्कट आउने भएकाले पाइपलाइनको विकल्प नभएको विज्ञहरूको निष्कर्ष छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) को सर्भे अनुसार करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना अनुदान सहयोगमा बनाइदिन नेपालले प्रस्ताव लैजाने तयारी गरेको छ।

पाइपलाइन परियोजनाका लागि नेपाल आयल निगमसँग सर्लाहीमा १४ बिघा आफ्नै जग्गा उपलब्ध रहेको र त्यहाँ १५ हजार मेट्रिक टन क्षमताका तीन वटा ठुला भण्डारण ट्याङ्की तथा आधुनिक टर्मिनल निर्माण गर्ने योजना छ। द्विपक्षीय सम्झौता भएर काम सुरु भएको दुई वर्षभित्र यो पाइपलाइन सम्पन्न गर्न सकिने जनाइएको छ। साथै, भ्रमणमा विद्यमान मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण तथा चितवनसम्मको विस्तारलाई समेत विशेष जोड दिइनेछ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा