काठमाडौँ । नेकपा (एमाले) को दुईदिने राष्ट्रिय भेला आज बुधबारदेखि राजधानी काठमाडौँमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजेदेखि प्रारम्भ हुने भेलाको उद्घाटन तथा प्रमुख सम्बोधन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि तथा नेताहरू काठमाडौँ आइपुगिसकेको पार्टी कार्यालयले जनाएको छ।
पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार मुलुकको राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिन यो राष्ट्रिय भेला आयोजना गरिएको हो। मङ्गलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले भेलाका कार्यसूचीहरू अनुमोदन गरिसकेको छ, जसमा गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयहरूको एकरूप कार्यान्वयन र पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा मुख्य कामबारे गहन छलफल गरिनेछ।
यस बृहत् भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठन र केन्द्रीय निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन्। त्यसैगरी सङ्घीय र प्रदेश तहका सांसदहरूका साथै स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको समेत भेलामा बाक्लो उपस्थिति रहने जनाइएको छ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार उद्घाटन सत्रमा अध्यक्ष ओलीसँगै वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भेलाबाट पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे महत्त्वपूर्ण निष्कर्ष निकालिने एमालेले विश्वास लिएको छ।




