काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना भइरहेको बहुप्रतीक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका प्रारम्भिक खेलहरू आज मङ्गलबारदेखि औपचारिक रूपमा सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते हुने तय भए पनि समय व्यवस्थापन र खेल तालिकाको चापलाई ध्यानमा राख्दै महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच वटा विधाका प्रतिस्पर्धा आजैबाट सुरु गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको कार्यतालिका अनुसार कुल ३२ खेलहरूमध्ये अधिकांश अर्थात् २३ वटा खेलको प्रतिस्पर्धा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला र आसपासका मैदानहरूमा सञ्चालन हुनेछन्। बाँकी ९ विधाका खेलहरू भने कर्णालीका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै छिमेकी लुम्बिनी प्रदेशको बाँके (नेपालगञ्ज) र बर्दियामा आयोजना गर्ने व्यवस्था मिलाइएको छ।
यस ऐतिहासिक प्रतियोगितामा सात वटा प्रदेश, तीन वटा विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टिम सहभागी छन्। खेलाडीहरूले ३ सय ८४ वटा विभिन्न इभेन्ट्सअन्तर्गत कुल १ हजार ३ सय ३७ वटा पदकका लागि कडा प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रिय खेलकुदको इतिहासमै पहिलोपटक यस संस्करणदेखि स्वर्ण पदक विजेताका साथै रजत र कास्य पदक जित्ने खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको राखेपले जनाएको छ। मङ्सिर १६ गते भव्य समारोहबिच उद्घाटन हुने यो खेलकुद महाकुम्भ आगामी मङ्सिर २७ गते कर्णाली प्रदेश रंगशालामा समापन हुने कार्यक्रम रहेको छ।




