काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै दृढतापूर्वक कार्यान्वयन गर्न सबै पक्षसँग आह्वान गरेका छन्। लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको शुभारम्भका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि राज्यका सम्पूर्ण संयन्त्र तथा नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन मात्र नभई समतामूलक, समृद्ध र सभ्य समाज निर्माणको प्रमुख बाधक भएको बताएका छन्। विशेषगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रताडित भइरहेको उल्लेख गर्दै उनले पछिल्लो समय डिजिटल प्रविधिको दुरुपयोगबाट हुने अनलाइन हिंसा नयाँ चुनौतीका रूपमा देखापरेको औँल्याएका छन्।
नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय र समावेशितालाई मूर्तरूप दिन कानुनी तथा संस्थागत संरचनाको सुदृढीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितहरूको पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। यसै वर्ष बाढीपहिरोजस्ता प्राकृतिक विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम झनै बढ्ने भएकाले त्यसतर्फ विशेष सतर्कता अपनाउनुपर्ने उनको धारणा छ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने यस अभियानलाई नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ। प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने रचनात्मक कार्यक्रमहरूले हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।




