भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति स्वागतयोग्य : पूर्वमन्त्री योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भारत भ्रमणका क्रममा भैरहवाबाट दुईतर्फी हवाई रुट (two-way air routes) सञ्चालन गर्नेबारे नेपाल र भारतबिच भएको सहमतिको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो सहमतिले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अत्यधिक हवाई चाप व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई सहजीकरण गर्न एक हदसम्म महत्त्वपूर्ण राहत पुग्ने बताएका छन्।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज सहज रूपमा अवतरण गर्न आवश्यक प्राविधिक उचाइबारे चर्चा गर्दै पूर्वमन्त्री भट्टराईले विस्तृत अध्ययन र निष्कर्ष आवश्यक रहेको औँल्याएका छन्। उनले भनेका छन्, ‘मैले बुझेअनुसार भैरहवाका लागि ६ हजार ५ सय फिट र पोखराका लागि १५ हजार फिटको उचाइ उपयुक्त हुन्छ। तर, भारतीय प्राविधिक टोलीले यसलाई कसरी स्वीकार गर्छ, त्यो प्राविधिक निष्कर्षपछि मात्र थाहा हुनेछ।’

नेपालको दीर्घकालीन हवाई हित र अन्तर्राष्ट्रिय उडानलाई लागत तथा समयका हिसाबले किफायती बनाउन अझै पनि महेन्द्रनगर र नेपालगन्ज प्रवेश विन्दु नै नेपालको मुख्य प्राथमिकता हुनुपर्नेमा उनले जोड दिएका छन्। विगतका प्रयासहरूको स्मरण गर्दै उनले सन् २०१९ ताका दुई देशका उड्डयन अधिकारीहरूबीच भएको विस्तृत छलफल निष्कर्षको नजिक पुगेर पनि अन्तिम चरणमा किन कार्यान्वयन हुन सकेन भन्ने विषय उपयुक्त समयमा खोल्ने स्पष्ट पारेका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि भैरहवाबाट दुईतर्फी हवाई रुट खुला गर्ने सहमति भएको हो। यो सहमतिलाई केवल घोषणामा मात्र सीमित नराखी यथाशीघ्र प्राविधिक तथा कूटनीतिक संयन्त्रमार्फत कार्यान्वयनको तहमा लैजानुपर्ने र राष्ट्रिय हितका अन्य प्रवेश विन्दुहरू खुलाउन निरन्तर वार्ता जारी राख्नुपर्ने भट्टराईको सुझाव छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा