नरैनापुर अनिश्चितकालका लागि “शिल” ,एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण

बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । उहाँका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा एक जनाको ज्यान जाने गरी नौ जनामा सङ्क्रमण देखिएको थियो । नरैनापुरमा शुरुमा फेला परेका आठ जनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सोमवार सङ्कलित ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ९३ जनामा पुष्टि भएको छ । सोमबार अपराह्न ४७ र राति १० बजेपछि १२ जना गरी ५९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक गरी २५ जनामा सङ्क्रमण देखिएको छ ।

बाँकेमा पहिलो पटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका आठ जनालाई दाङ आइसोलेशन अस्पतालमा पठाइएको छ । सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेशन सेवासहितको उपचार सेवा दिने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा