काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने तयारी भइरहेको भन्ने चर्चाको खण्डन गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत संयुक्त धारणा सार्वजनिक गर्दै उनीहरूले सदस्यता खारेज नभई व्यवस्थित र अद्यावधिक गर्ने विशेष अभियान सुरु गरिएको स्पष्ट पारेका हुन्।
पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलाइएको भन्दै महामन्त्रीद्वयले त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन्। पार्टीको सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनका लागि अद्यावधिक प्रक्रिया अघि बढाइएको उनीहरूको भनाइ छ। यस अभियानले नेपाली कांग्रेसको सङ्गठनलाई तल्लो तहसम्म मजबुत बनाउने र नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन तथा उत्तरदायित्व थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
विगतका अनुभव र आन्तरिक विवादबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको उनीहरूले बताएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार र ‘जेनजी’ आन्दोलनपछि परम्परागत दलहरूमाथि लागेको सुस्तताको आरोप चिर्न कांग्रेसले आन्तरिक लोकतन्त्र र डिजिटल प्रणालीलाई प्राथमिकता दिएको देखिएको छ। महामन्त्रीद्वयले सम्पूर्ण सदस्यहरूलाई समयमै विवरण अद्यावधिक गर्न र नयाँ पुस्तालाई पार्टीमा आबद्ध हुन आह्वान समेत गरेका छन्।





