काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज सोमबार दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ। दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो।
संसदीय दलको नेता चयनको विषयलाई टुङ्गो लगाउन बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। उक्त बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ। कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ, जसले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिई अनुमोदन गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिनुभयो।
त्यसैगरी, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्ने तय भएको छ। समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गतेको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक/प्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ। बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा समेत आवश्यक निर्णय लिने बताइएको छ।




