काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षीय नेताहरूको भेलामा पार्टी नेतृत्व र एकताको विषयलाई लिएर सभापति गगनकुमार थापामाथि गम्भीर प्रश्न उठाइएको छ। धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा मंगलबार बसेको बैठकमा सहभागीहरूले थापाले समग्र पार्टीलाई मिलाएर लैजान पहलकदमी नगरेको गुनासो गरेका हुन्।
भेलालाई सम्बोधन गर्दै नेता भीमसेनदास प्रधानले गगन थापालाई एउटा गुटको मात्र नभई समग्र कांग्रेसको सभापति बन्न आग्रह गर्नुभयो। “अहिले वैधानिक सभापति गगन थापा नै हो, तर उहाँ सबैको सभापति हुने कि एउटा खेमाको मात्रै भन्ने निर्णय गर्ने समय आएको छ,” प्रधानले भन्नुभयो। सभापतिले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्न कुनै ठोस कदम नचालेको आरोप भेलाका सहभागीहरूले लगाएका छन्।
त्यस्तै, नेता रामहरि खतिवडाले सर्वोच्च अदालतले विशेष महाधिवेशनको विवाद निरुपण गरिसकेको अवस्थामा अब वृहत् एकतासहित १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताउनुभयो। उहाँले कांग्रेसलाई बलियो बनाउन सभापति थापाले नै अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो। फागुन २१ को चुनावी समीक्षा र आगामी साङ्गठनिक सुदृढीकरणका लागि सभापतिको भूमिका अर्थपूर्ण हुने भन्दै खड्का समूहले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेको छ।





