प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीबाट नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको भए पनि त्यसबाट निराश र हतोत्साह नभई काम गर्नुपर्ने बताएका छन्। संसद्मा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरससँग लड्दै र निको पार्दै जनजीवनलाई सामान्य बनाउनुपर्ने बताएका छन्।
सरकारले जनतासँग छलछाम गर्न नहुने र नगर्ने भन्दै उनले प्याकेज प्रस्तुत गर्दा राज्यले धान्न सक्ने र दीर्घकालीन हुनुपर्ने टिप्पणी गरे। उनका अनुसार सरकारले बेरोजगार भएकालाई यथासम्भव रोजगारीको अवसर उपलब्ध गराउनेछ।
ओलीले मानवजातिले कोरोनाभाइरसलाई परास्त गर्ने र नेपाललाई ‘कोरोनाभाइरसमुक्त’ बनाइने विश्वास व्यक्त गरे। कोभिड-१९ देखिएका दुई जनाको निधन भएकोमा दुःख व्यक्त गर्दै उनीहरूले कोरोनाभाइरसकै कारण मात्र नभएर अन्य जटिलताका कारण ज्यान गुमाएको हुनसक्ने उल्लेख गरे।
तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड-१९ को सङ्क्रमण पाइएकाले उनीहरूको ज्यान कोरोनाभाइरसका कारणले गएको स्वीकार गरिएको उल्लेख गरे। ‘हाम्रो प्रयास नेपालमा कोही पनि कोरोनाबाट ज्यान जानु नपरोस् भन्ने प्रयास असफल भएको छ’, ओलीले भने, ‘सरकारले उच्च सतर्कता अपनाउँछ । सकेसम्म बढी परीक्षण गर्ने । क्वारेन्टाइनमालाई अझ प्रभावकारी बढाउने काम हुँदैछ । अधिकांश बाहिरबाट आउनेले नै कोरोना सार्ने हो ।’
अधिकांश सङ्क्रमण बाहिरबाट आउनेले सारेको उल्लेगर्दै भारतबाट आउने व्यक्तिहरूबाट नेपालमा समुदायमा सङ्क्रमण सर्ने अवस्था देखिएकाले सजग हुनुपर्ने उनले बताए। चीनको वुहान, इटलीजस्ता स्थानबाट आएको भाइरसभन्दा भारतबाट प्रवेश गरेको कोरोनाभाइरस अलि शक्तिशाली रहेको उनको भनाइ थियो।
उनले भने, “सिमानामा आएर बस्नेलाई जनप्रतिनिधिका दबावले पनि रोक्न सकिएन। कहाँबाट सर्यो र कोबाट सर्यो भन्न सकेका छौँ। अझै पनि हामी नियन्त्रण गर्न सक्छौँ।”प्रधानमन्त्रीले नेपालमा हालसम्म ३४ जिल्लामा ३७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको पनि संसद्लाई जानकारी गराए। उनले देशभरि वडावडा तहसम्म क्वारन्टीन बनाउने गृहकार्य सरकारले अघि बढाएको बताए।
प्रधानमन्त्रीले कोरोनाभाइरसको नियन्त्रणभन्दा पनि सरकारलाई असफल देखाउने प्रयास भएको भन्दै सरकारले देशलाई कोरोनाभाइरसमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखिएको बताए।