काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका दिग्गज र बहुप्रतिष्ठित कलाकार सुनिल थापाको आज (शनिबार) बिहान निधन भएको छ। ७०औँ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा हृदयाघातका कारण उनको ज्यान गएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्। शंखमूलस्थित अपार्टमेन्टमा एक्लै बस्दै आएका थापाका परिवारका अन्य सदस्यहरू भने भारतको मुम्बईमा रहँदै आएका थिए।
सुनिल थापा नेपाली चलचित्र उद्योगका यस्ता अभिनेता हुन् जसले ‘खलनायक’ को भूमिकालाई पनि नायक सरहकै उचाइ र सम्मान दिलाए। विशेषगरी ‘चिनो’ चलचित्रमा उनले निर्वाह गरेको ‘राते काइँला’ को भूमिका आज पनि नेपाली दर्शकको मानसपटलमा ताजै छ। उनी नेपाली मात्र नभई भारतीय (बलिउड) चलचित्र उद्योगमा समेत उत्तिकै सफल र सक्रिय थिए। प्रियंका चोपडा अभिनित बलिउड चलचित्र ‘मेरी कोम’ मा उनले निभाएको प्रशिक्षकको भूमिकाको निकै प्रशंसा भएको थियो।
करिब चार दशक लामो अभिनय यात्रामा उनले अनगिन्ती नेपाली, हिन्दी र भोजपुरी चलचित्रहरूमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका छन्। उनको असामयिक निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी अभिभावक र बलियो धरोहर गुमाएको छ।




