काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण देशभरिको मौसममा बदलाब आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै यी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो देशका अन्य पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही भूभागमा बिहानको समयमा हुस्सु र कुहिरो लागे पनि दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिएको छ। तराईका थोरै स्थानहरूमा भने राति तुवाँलो लाग्न सक्ने हुनाले चिसोबाट बच्न र यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




