काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना देखिएको हो।
अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको अवस्था छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज बिहीबार दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने देखिन्छ। महाशाखाले कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरेको छ। साथै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ। पहाडी र हिमाली भेगमा हुने मौसमको यो फेरबदलले जनजीवनमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।





