काठमाडौँ । २०८३ वैशाख १९ गते शनिबार देशका अधिकांश भू-भागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आज दिउँसो साधारणतया बादल लाग्ने देखिन्छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मौसम प्रतिकूल रहने देखिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। राति कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानहरू तथा लुम्बिनी र कर्णालीको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





