काठमाडौँका आधा दर्जन बढी सुकुमवासी बस्तीमा आज डोजर चल्दै: सुरक्षाकर्मीको ठूलो दस्ता परिचालन

काठमाडौं । सरकारले आज (वैशाख १९ गते) काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा डोजर चलाउने भएको छ । काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरूमा पर्ने वंशीघाट, बल्खु, स्वयम्भू, बालाजु, सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।

यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली परिचालन गरिएको छ । बस्ती खाली गर्ने सूचनालाई अटेर गरेमा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयं हुने चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको छ । प्रशासनले वैशाख १८ गते बिहान ७ बजेबाट बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार, काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका बस्ती, सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गरिरहेका बस्तीहरूलाई मानवीय उद्धार र विपद्को जोखिमलाई मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ ।

सरकारले डोजर चलाउने सूचनापछि अनामनगरको धोबीखोला छेउका सुकुमवासीहरू भने बिहीबारदेखि नै बस्ती छाड्न थालेका थिए । यसअघि सरकारले वैशाख १२ गते थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो ।

प्रशासनले बस्ती खाली गर्ने क्षेत्रका बासिन्दालाई दिएको १३ बुँदे निर्देशन:

1. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोस् ।
2. परिवारमा बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्नुहोस् ।
3. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्धार गर्नुपरेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोस् । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
4. व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपंक्षी चौपाया लगायत बाहिर निकाल्नुहोस् । ढुवानीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरीको सहयोग लिनुहोस् ।
5. २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्नुहोस् ।
6. वास्तविक आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गरिनेछ ।
7. वास्तविक भूमिहीन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।
8. मानवीय सहायता प्रदान गर्दै उद्धार गरिनेछ । कसैको गलत हल्ला, दबाब, प्रभाव वा अफवाहका पछाडि नलाग्नुहोला ।
9. नक्कली एवं अवास्तविक भूमिहीन व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाही गरिने छ ।
10. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त हक अधिकार सुरक्षित रहनेछ ।
11. सरकारको यस अभियानमा सहयोग गर्नु तपाईंको कर्तव्य र जिम्मेवारी हो ।
12. सरकारले सहयोग र मद्दत गर्न आएको छ । बालबालिकाको शिक्षाको प्रबन्ध सरकारको तर्फबाट हुनेछ ।
13. कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाईं स्वयम् हुनुहुनेछ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा