सिरहा । सिरहाको लहान नगरपालिकामा लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। लहान वडा नम्बर ३ स्थित हस्पिटल चोकमा बिहीबार लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोली र तस्करहरूबिच प्रतिरोध हुँदा प्रहरीले बाध्य भएर गोली प्रहार गरेको हो।
काठमाडौँको कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै अवरोध खडा गरेका थिए। सोही क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले घटनास्थलबाटै ६ जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि चलाइएको यस अपरेसनमा घाइते भएकाहरूको विस्तृत पहिचान खुलाउने र पक्राउ परेकाहरूमाथि थप कानुनी अनुसन्धान गर्ने कार्य तीव्र रूपमा भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।







