काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभाव सक्रिय बनेपछि देशभरको मौसममा ठूलो फेरबदल आएको छ। मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशका अधिकांश स्थानमा बादली छाउने र मौसमी प्रणालीमा अचानक बदलाव आउने जनाएको छ। विशेषगरी धानबाली भित्र्याउने बेलामा देखिएको यो मौसमी प्रणालीले कृषि क्षेत्र र दैनिक जनजीवनमा प्रत्यक्ष असर पार्ने देखिएको छ।
यस प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा दिउँसो र रा,ती दुवै समयमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि धेरै स्थानमा वर्षा हुनुका साथै हिमाली तथा उच्च पहाडी क्षेत्रमा निरन्तर हिमपातको क्रम सुरु हुनेछ। विशेष गरी कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही क्षेत्रमा अति भारी वर्षा र हिमपातको समेत उच्च जोखिम रहेको महाशाखाले औंल्याएको छ।
मौसममा आएको यो अचानकको बदलावले उच्च हिमाली भेगमा हिमआँधि र हिमपहिरोको जोखिम बढाएको छ भने पहाडी तथा तराई क्षेत्रमा बाढी र पहिरोको सम्भावनालाई नकार्न सकिँदैन। यसैबीच, पाकेको धानबाली जोगाउन किसानहरूलाई तत्काल आवश्यक सतर्कता अपनाउन र असोज-कार्तिकको यो समयमा उच्च हिमाली क्षेत्रतर्फको यात्रा पूर्ण रूपमा स्थगित गर्न विशेष आग्रह गरिएको छ। हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सबैलाई सचेत रहन अनुरोध गरिएको छ।
आगामी शनिबारसम्म यो मौसमी प्रणालीको प्रभाव कायम रहने देखिएको छ भने आइतबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने अनुमान गरिएको छ। यद्यपि, तराई र उपत्यकाका केही क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने क्रम सुरु हुनेछ। प्रतिकूल मौसमको यो समयमा सुरक्षित स्थानमा रहन, सरकारी निकायका सूचनालाई प्राथमिकता दिन र अनावश्यक यात्राबाट टाढै रहन सर्वसाधारणमा विशेष अपिल गरिएको छ।





