पार्टी र नागरिक जोड्न कांग्रेसको नयाँ प्रयास: बीपी जयन्तीदेखि ‘एनसी फर एनसी’ अभियान सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको जनविश्वास पुनर्स्थापित गर्न र सङ्गठनलाई नागरिक हितमा केन्द्रित गर्ने उद्देश्यले ‘एनसी फर एनसी’ (नेपाली कांग्रेस फर नेशनल कज) नामक नयाँ अभियानको घोषणा गरेको छ। बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा पार्टीका तर्फबाट सो अभियानको घोषणा गरिएको हो।

पार्टीलाई थप गतिशील बनाउन र जनस्तरमा सकारात्मक प्रभाव पार्न अघि सारिएको यो अभियान आगामी भदौ २४ गते बीपी कोइरालाको जन्म जयन्तीका दिनदेखि औपचारिक रूपमा सुरु हुनेछ। अभियानले मुख्य रूपमा चार वटा क्षेत्र (क्लस्टर) मा काम गर्नेछ। जसअन्तर्गत पहिलो चरणमा पार्टीका सदस्यहरूले रक्तदान तथा श्रमदानजस्ता सामाजिक कार्यमा लाग्ने प्रण गर्नेछन्। त्यसैगरी, दोस्रोमा वैयक्तिक सहयोग अभियान, तेस्रोमा नागरिक अधिकार सम्बन्धी अभियान र चौथोमा सुशासन प्रवर्धनसम्बन्धी अभियान सञ्चालन गरिनेछ।

पार्टी नेतृत्वका अनुसार यो अभियानमा सहभागिता स्वेच्छिक रहनेछ। आजैका दिनदेखि भदौ २४ गतेसम्म प्रत्येक नेता-कार्यकर्ताले आफू सहभागी हुने क्षेत्र र सञ्चालन गर्ने कार्यक्रमबारे योजना बनाउने र बीपी जयन्तीका दिन प्रण गर्दै औपचारिक घोषणा गर्ने समयतालिका तय गरिएको छ। नागरिकका आधारभूत आवश्यकता र सुशासनलाई केन्द्रमा राखेर ल्याइएको यस अभियानले कांग्रेसप्रतिको जनविश्वास पुनः जगाउने अपेक्षा गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा