एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रबार अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । यस्तै एमालेले विभागहरूमा सदस्यहरूको मनोनयन समेत गरेको छ । गत सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार नेताहरूको जिम्मेवारी हेरफेर भएको हो ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौँको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ ।

एमालेले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूकाे पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय पनि गरेको छ । 

अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिइएको छ ।

पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय भएको एमालेले जनाएको छ ।

६ केन्द्रीय सदस्यको बिदाइ 
नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। जसअन्तर्गत केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको छ भने चारजनालाई स्वास्थ्यका कारण बिदाइ गरेको छ ।

एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ ९(मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको छ। उनीहरूले स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ।

सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय पनि गरेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा