प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायसँगको युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकहरूलाई रिहा गरेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाईल्याण्डका कामदारहरू रिहा भएको जनाएको छ ।
इजरायल- हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो । रेडक्रसले २४ जना बन्धक रिहा गरेको पुष्टि गरेको छ ।
रेडक्रसले बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा लेखेको छ,’हामी २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी छौं। हामीले उनीहरूलाई गाजाबाट रफाह सीमामा ढुवानी गरेर यो रिहाईलाई सहज बनायौं’ रेडक्रसले भनेको छ ।
इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिनभित्र ५० बन्धक र १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । शुक्रबारै इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीहरू पनि रिहा भएका छन् ।



