‘आशिकी’ फिल्मको धुनलाई बजाएसँगै दर्शकले गुनगुनाए,’तुम हि हो’, अनि सुरु भयो ‘अरिजित सिंह लाइभ इन नेपाल’ । भारतका लोकप्रिय गायक अरिजित सिंहले यही गीत गाएसँगै हायत रिजेन्सीको चौरमा उपस्थित दर्शक झुम्न थाले । यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ उपस्थित सबैलाई धन्यवाद,’ अरिजितले दर्शकलाई सम्बोधन गर्दै प्रस्तुति दिन थाले ।
त्यसपछि ‘केसरिया तेरा’, ‘जो तुम ना हो’ ‘बेखयाली’, ‘प्यार झुठा था तो’, ‘केहेते हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, घुंगरू टुट गए’ लगायतका चर्चित गीत गाए ।अरिजितले गीत गाउँदै गर्दा बीच्च बीच्चमा दर्शकदीर्घामा भएकाहरुलाई अटोग्राफ दिन पनि समय निकाले ।
अटोग्राफ लिनेको लर्को बढेसँगै जनरल क्षेत्रका दर्शकलाई इंगित गर्दै अरिजितले भने, ‘एकै क्षण पर्खनुस् म सबैलाई पक्का अटोग्राफ दिन्छु । तर त्यहाँका दर्शक मेरम गीत सुन्न आएका छन् । म उहाँहरुका लागि पहिला गाउन चाहन्छु ।’त्यसपछि फेरि चर्चित गीतहरुको प्रस्तुतिलाई निरन्तरता दिए ।
‘दिल सम्हल जा जरा’, ‘रंगदे तु मो हे गेरुवा, ‘अपना बनाले पिया’, ‘जालिमा’, ‘जो तु मेरा हम दर्द है’, ‘खेरियत पुछो’, ‘मे फिर भि तुमको’, लगायतका गीतमा २ घण्टाको प्रस्तुतिपछि उनले दर्शकले स्टेजसम्म पुर्याएका लुगामा फेरि अटोग्राफ दिन थाले । लुगाको थुप्रो बढ्दै जाँदा ठट्यौली शैलीमा भने, ‘लागिरहेको छ, यो कुनै कपडा पसल हो ।’
अटोग्राफकै माग धेरै बढेपछि उनले फेरि भने, ‘अब के म अटोग्राफ भर्दै बसुँ । खासमा मलाई अटोग्राफ दिनै मन लाग्दैन । तर तपाईंहरु मान्दै मान्नुहुन्न ।’प्रस्तुतिकै बीच अरिजितले नेपाली गीत गाउँदै दर्शकलाई चकित पारे । ‘आउ न आउ, यो मनलाई’ बोलको नेपाली शब्दलाई गाइरहँदा उनी भन्दै थिए,
‘मलाई थाहा छ मेरो शब्द उच्चारण मिलिरहेको छैन ।’ उक्त गीत चर्चामा नरहे पनि आफूलाई गीतको मेलोडीले तानेको समेत उनले बताए ।करिब ४ घण्टाको प्रस्तुतिपछि ‘अब घर जाने समय भयो’ भन्दै अरिजितले फेरि गाए, ‘अच्छा चलता हुँ, दुवाओमे याद रखना ।’ प्रस्तुतिको अन्तमा अरिजित अटोग्राफकै विषयमा बोल्दै थिए,
‘यदि मैले अटोग्राफमा भर्नुभन्दा धेरै गाउन पाएको भए ।’गराज इन्टरटेन्टमेन्ट र एमएन प्रोडक्सनको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपस्थित दर्शकले हायत रिजेन्सीको चौर भरिएको थियो ।
