काठमाडौं । इरानमा जारी व्यापक विरोध प्रदर्शनका क्रममा अहिलेसम्म ५ सयभन्दा बढी व्यक्तिको ज्यान गएको छ।
अमेरिकास्थित मानव अधिकारवादी संस्था ‘एचआरएएनए’ का अनुसार हालसम्म ४९० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५३८ जनाको मृत्यु भइसकेको छ। प्रदर्शनका क्रममा १०,६०० भन्दा बढी मानिस पक्राउ परेका छन्।
यद्यपि, इरान सरकारले आधिकारिक तथ्यांक सार्वजनिक नगरेको हुनाले यी संख्याहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको पक्षमा हस्तक्षेप गर्ने चेतावनी दोहोर्याएपछि तेहरानले अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्ने धम्की दिएको छ।
इस्लामिक गणतन्त्र इरान सन् २०२२ यताकै सबैभन्दा ठूलो जनआन्दोलनको सामना गरिरहेको बेला ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए हस्तक्षेप गर्ने चेतावनी पटक–पटक दिएका छन्।
राष्ट्रपति ट्रम्पलाई मंगलबार इरानसम्बन्धी विकल्पबारे जानकारी दिइने तयारी छ, जसमा सैन्य आक्रमण, गोप्य साइबर हतियार प्रयोग, थप प्रतिबन्ध र सरकारविरोधी अनलाइन गतिविधिलाई सहयोग जस्ता विषय समावेश छन्।
यसप्रति प्रतिक्रिया जनाउँदै इरानी संसद सभामुख मोहम्मद बाकेर गालिबाफले वाशिङ्टनलाई “गलत हिसाब–किताब” नगर्न चेतावनी दिए।
पूर्व रिभोल्युशनरी गार्ड कमाण्डरसमेत रहेका गालिबाफले भने, “इरानमाथि आक्रमण भएमा इजरायल (अधिकृत क्षेत्र), सबै अमेरिकी सैन्य अड्डा र जहाजहरू हाम्रो वैध लक्ष्य हुनेछन्।”





