नेपाल प्रिमियर लिग : चितवन राइनोजलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १३० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १६ ओभर ४ बलमा ५ विकेटको क्षतिमा सहजै लक्ष्य पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमलेनले विस्फोटक ब्याटिङ प्रदर्शन गरे। उनले मात्र २१ बलको सामना गर्दै २ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ४३ रनको आक्रामक इनिङ्स खेले। यस्तै, इशान पाण्डेले २९ बलमा २ चौका प्रहार गर्दै महत्त्वपूर्ण २५ रनको योगदान दिए। बलिङतर्फ चितवनका रन्जित कुमारले ३ विकेट हात पारे भने रिजन ढकालले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ४० बलमा २ छक्का र ३ चौकासहित सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई ठूलो योगफलतर्फ डोर्‍याउन सकेनन्। यसैगरी डेविड मलानले १७ बलमा १६ रन, अर्जुन साउदले १७ बलमा १५ रन र कप्तान सिकन्दर राजाले २० बलमा १५ रन जोडे।

सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गर्दै चितवनका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन्। स्कट कुगेलिइनले २ विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १–१ विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिम रोयल्स ४ खेलबाट ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चितवन राइनोज पाँचौँ स्थानमा झरेको छ। यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई हराएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा