काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । मेयर बालेनले आइतबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
बालेनको राजिनामासँगै महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारी स्वतः डंगोलले पाएकी छिन् ।
मेयर पदबाट राजीनामा दिएर रास्वपा वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुगेका छन् । उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन् । उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड छ ।
बालेनलाई रास्वपाले आगामी प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ । उनी आगामी फागुन २१ मा हुने निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार हुने चर्चा रहेको छ ।






