काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आजैदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले आयोगले यो कदम चालेको हो।
नेपाल राजपत्रमा प्रकाशित भइसकेको यो आचारसंहिता अर्को सूचना जारी नभएसम्मका लागि कार्यान्वयनमा रहनेछ।
आचारसंहिताको दायरामा को-को पर्छन्?
निर्वाचन आयोगका अनुसार सरकारी तहदेखि तल्लो निकायसम्मका विभिन्न व्यक्ति र संस्थाहरूले यसको पालना गर्नुपर्नेछ। आचारसंहिता लागू हुने मुख्य पक्षहरू यस प्रकार छन्:
-
सरकार र पदाधिकारी: नेपाल सरकार, प्रदेश सरकार, संघीय र प्रदेशका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू।
-
स्थानीय तह र कर्मचारी: स्थानीय कार्यपालिकाका सदस्यहरू, संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरू।
-
सुरक्षा निकाय: सुरक्षा निकाय, सुरक्षाकर्मी र त्यहाँ कार्यरत कर्मचारीहरू।
-
राजनीतिक दल र उम्मेदवार: राजनीतिक दल, तिनका भातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधिहरू।
-
शिक्षण संस्था र सञ्चार माध्यम: विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरू।
-
गैरसरकारी र निजी क्षेत्र: निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीहरू, विकास साझेदार संस्था र विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरू।
-
अन्य: मतदाता, सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू, अनुगमनकर्ता र निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरू।
आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ। यसको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत स्पष्ट पारिएको छ।




