काठमाडाैं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यका ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ। मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हाे ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भक्तपुर–२ मा दुई वटा तथा सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक/एक वटा उजुरी दर्ता भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठक, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरी र रास्वपाका लालबिक्रम थापाविरुद्ध उजुरी परेको हाे ।
निर्वाचन कार्यतालिका अनुसार ती उजुरीहरूमाथि बिहीबार जाँचबुझ गरी निर्णय गरिनेछ भने माघ ९ गते दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन साँझ ७ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।





