निपाह भाइरसबारे नआत्तिन तर सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सबै पूर्वतयारी तथा नियन्त्रणका कदम चालिरहेको जनाउँदै सर्वसाधारणलाई आत्तिनु नपर्ने स्पष्ट पारेको छ। मन्त्रालयले सबै नागरिकलाई सचेत, सजग र जिम्मेवार व्यवहार अपनाउन आग्रह गरेको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निपाह भाइरसको जनस्वास्थ्य जोखिम हाल न्यून रहेको मूल्यांकन गरे पनि छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै नेपालमा सतर्कता अपनाइएको उल्लेख गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पूर्वतयारीका रूपमा देशभरका स्वास्थ्य संस्था तथा सम्बन्धित निकायलाई सचेत गराइसकेको र निपाह भाइरसको परीक्षणका लागि आवश्यक तयारीसमेत पूरा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा मानिसमा सर्न सक्छ। साथै सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब, नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा संक्रमण फैलन सक्ने जनाइएको छ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर सेवन गर्न, सुरक्षित पानी उमालेर पिउन, जनावरका गोठ तथा फार्म सफा राख्न, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्न, नियमित रूपमा साबुनपानीले हात धुन तथा भिडभाडमा जाँदा मास्क लगाउन अनुरोध गरेको छ।

ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएमा सतर्क हुन मन्त्रालयले आग्रह गरेको छ। गम्भीर अवस्थामा होस गुम्ने वा अचेत हुने लक्षण देखिएमा शङ्कास्पद बिरामीलाई तत्काल आइसोलेसनमा राखी रिपोर्टिङ गर्नुपर्ने उल्लेख गरिएको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गराउन मन्त्रालयले सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ। साथै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ नम्बरमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।

हालसम्म नेपालमा निपाह भाइरसको कुनै पनि घटना पुष्टि नभएको र सम्भावित जोखिम न्यूनीकरणका लागि स्वास्थ्य निकाय पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा