काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।
अघिल्लो दिन सामान्य वृद्धिको लयमा रहेको बजार आज १२.५८ अंकले ओरालो लाग्दै २६८३.१५ विन्दुमा ओर्लिएर बन्द भएको छ।
परिसूचक घटे तापनि बजारमा लगानीकर्ताको सक्रियताका कारण कारोबार रकममा भने वृद्धि देखिएको छ। आज ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन हिजोको ८ अर्ब २२ करोड ३९ लाखको तुलनामा बढी हो।
आजको बजारमा सेक्टरगत प्रदर्शन मिश्रित रह्यो। जम्मा तीनवटा उपसूचकहरू—होटल तथा पर्यटन १.७९ प्रतिशत, म्युच्युअल फण्ड १ प्रतिशत, र उत्पादन तथा प्रशोधन समूह ०.३७ प्रतिशतले बढ्दा बाँकी सबै समूहका सूचकहरू राताम्मे रहे।
गिरावट भएका समूहमध्ये फाइनान्स समूहमा सबैभन्दा बढी १.०९ प्रतिशतको ह्रास देखिएको छ। समग्र बजारमा १९० कम्पनीका लगानीकर्ताले गुमाउँदा ६६ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस गिरावटबीच पनि कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एचएलआई लार्ज क्याप फण्डका लगानीकर्ताले ९.९५ प्रतिशत नाफा आर्जन गरेका छन्।





