काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब मात्र २७ दिन बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्रता दिएको छ। आयोगका अनुसार प्रत्यक्षतर्फको निर्वाचनका लागि आवश्यक पर्ने ६० जिल्लाको मतपत्र छपाइको काम सफलतापूर्वक सम्पन्न भएको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको मतपत्र छपाइ कार्यअन्तर्गत ६० जिल्लाको काम सकिएको हो भने तीमध्ये २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ दुवै कार्य सम्पन्न भइसकेको छ। आयोगले उपलब्ध गराएको विवरणअनुसार विशेषगरी दुर्गम र पहाडी जिल्लाहरूलाई प्राथमिकतामा राखेर मतपत्र व्यवस्थापन भइरहेको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र प्याकिङ भइसकेको छ। त्यसैगरी बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरीसहित २५ जिल्लाको सम्पूर्ण तयारी पूरा भएको छ। छपाइ सकिएका अन्य जिल्लाहरूको प्याकिङ कार्य पनि धमाधम भइरहेको र छिट्टै ती सामग्रीहरू सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइने आयोगले जनाएको छ।





